अभावको भोको भन्दा
रहरको भोको छ आधुनिकता,
अवस्थाको विवशता भन्दा
आधुनिकतासँग विवश छ अवस्था !
मौलिकता विहीन आधुनितकताभित्र
मौलाइहरेछ नूतन सभ्यता
मान्छेभित्र कुमान्छे जस्तै
सभ्यताभित्र झाँगिदैछ असभ्यता
आधुनिकताभित्र भित्रभित्रै गाँजिदैछन्
नैराश्यपूर्ण नूतन नग्नसभ्यताहरू
आधुनिकताको रमाइलो हाटबजारमा
चल्वलाइरहेछन् यौवनका फौबन्जारहरू !
चरम आधुनिकताको आदिम संस्करणमा
मोडल र सुपरमोडलको बजारको भेलमा
बिक्दैछन् यौवनका रहरलाग्दा कोपिलाहरू
नाङ्गिदैछन् समाजका प्रतिष्ठा र लज्जाहरू
लज्जित छन् शालिन सभ्यताका धरोहरहरू
ढल्दैछन् धमिरो लागेका धरहराहरू जस्तै
गल्दैछन् धपधपी जलेका मैनहरू जस्तै
सँस्कार र सौभ्य सभ्यताका परिस्कारहरू
नाङ्गा शरीर नाचेका अँध्यारा शहरहरूमा
खुसी छन् मान्छे आधुनिकताको रमझममा !
लज्जित छैनन् किञ्चित
उन्नत अवयवका मौलिक मालिकह‍रू
मादक मौनता बोकेका ती सुन्दरताहरू
मान्छे हैन वस्त्रविहीन हुन्छन् ढुङ्गाहरू
ढुङ्गा जस्तै हुनुमा खुसी छन्
यौवनका फौबन्जारहरू !
सौन्दर्यको नयाँ अर्थ
जीउँदा मान्छेको नग्नता
नग्नताको पर्याय बन्दैछ सौन्दर्य
नव यौवनाहरूको नग्न भीडमा
लज्जित छन् ती परिधानहरू
शरीर ढाक्ने गुन्यु, चोली र फरियाहरू
नग्नतामा खुसी छन् यौवनका फौबन्जारहरू !
सुन्दरता नग्नतामा हैन सौम्यतामा हुन्छ
सुन्दरता प्रदर्शनमा हैन पहिरनमा हुन्छ
तर नग्नतामा खुसी छन् यौवनका फौबन्जारहरू !

From:Dainikee.com

0 comments:

Older Post Home